डडेल्धुरा। डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज असोज १ गते परम्परागत ‘बुढी पोल्ने’ बुन्ढुनी पर्व धुमधामका साथ मनाइँदैछ। यो पर्वलाई दुष्ट शक्तिमाथि असल शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ।
यो पर्वको तयारी भदौ १ गतेदेखि नै सुरु हुन्छ। यस दिन मेलको वा अन्य काँडा भएको रूख काटेर दोबाटो वा ‘बुढी पोल्ने’ स्थानमा गाडिन्छ। त्यसपछि गाईबस्तु चराउन जाँदा प्रत्येक दिन एक-एक झिकण (रूखका हाङ्गा वा साना बुट्यानहरू) काटेर ल्याई त्यसको वरिपरि थुपारिन्छ। यसरी तयार गरिएको संरचनालाई राक्षसको प्रतीक मानिन्छ।
असोज १ गते बेलुका, गाउँका सबै मानिसहरू आ-आफ्नो घरबाट आगोको राँको (मुस्लो) निकाल्छन्। यस क्रममा उनीहरू मुखमा काँक्रा र चामल चपाउँदै “थुई बुढी थुई तु बढी म पोल्लो, गाई-बाछा पाल्लो” भन्दै बाहिर निस्किन्छन्। सबैजना आ-आफ्नो घरबाट आगोको राँकोसहित बुढी पोल्ने ठाउँमा जम्मा भएर त्यसलाई जलाउँछन्।
बुन्ढुनी पर्वको पौराणिक कथा र जनविश्वास
द्वापर युवमा भगमान श्रीकृष्णलाई मार्नका लागि मामा कंशले पुतना नामकी राक्षसीलाई वृन्द्रावनमा पठाएको र पुतनाले गाउँका सबै बालकलाई आफ्नो दुघ पिलाउदै मार्दै गरेपछी श्रीकृष्णले भाद्र १ गते पुतनाको सबै विष मिलाएको दुध खाएर पुतनाको बध गरेका थिए ग्वालाहरूले पुतनालाई ल्याएर दोबाटोमा राखे दैनिक गाई चराउन जादा एउटा एउटा काडाभएको रूखको हाँङ्गा काटेर ल्याएर त्यो पुतको शवमाथी राख्ने र एक महिना पछी असोज १ गते राती सबै ग्वाला (गोठाला) ले पुतनाको शवलाई जलाएका थिए भन्ने किम्बदन्ती छ । त्यसैले आजको दिनलाई दुष्टको विनास वा अन्तिम संस्कार गरेको घटनाको सम्झनामा यो पर्व मनाइने चलन चल्दै आएको हो ।
यो पर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सामाजिक र सांस्कृतिक एकताको पनि महत्त्वपूर्ण हिस्सा हो। यस दिन रातभरि देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ, जसले गाउँलेहरूलाई सँगै ल्याएर आपसी सद्भाव बढाउन मद्दत गर्छ।