नेपालको शैक्षिक बेरोजगारीः सर्टिफिकेटको बोझ र खाली हातको भविष्य

lalbigul.com

सम्पादकीयः-  नेपालको शैक्षिक बेरोजगारीः सर्टिफिकेटको बोझ र खाली हातको भविष्य

नेपालमा शैक्षिक बेरोजगारीको समस्या एक राष्ट्रिय संकटको रूपमा देखा परेको छ । प्रत्येक वर्ष विश्वविद्यालय र कलेजहरूबाट हजारौँ विद्यार्थीहरू स्नातक र स्नातकोत्तरको उपाधि लिएर निस्कन्छन्, तर उनीहरूको हातमा काम हुँदैन ।

यो समस्याले देशको समग्र सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा गम्भीर असर पारिरहेको छ । खेतका गराहरू बाँझो छन्, युवाहरू श्रम गर्न विदेशिँदै छन् र देशको अर्थतन्त्र रेमिट्यान्सको साँघुरो जगमा अडिएको छ । यस्तो अवस्थामा, अब नेपालको भविष्य कता जाला भन्ने प्रश्नले हामी सबैलाई पिरोलेको छ ।

हाम्रो शिक्षा प्रणाली आजको आधुनिक युगको आवश्यकता र देशको यथार्थताभन्दा निकै टाढा छ । यो शिक्षाले विद्यार्थीलाई डिग्रीको प्रमाणपत्र मात्रै थमाएको छ, तर जीवन जिउने सीप र व्यावसायिक ज्ञान दिएको छैन । हामीले बालबालिकालाई पढेलेखेर ठूलो मान्छे बन्नुपर्छ भन्ने संस्कार त सिकायौँ तर काम गरेर ठूलो बन्नुपर्छ भन्ने कुरा सिकाउन सकेनौँ । फलस्वरूप, डिग्री लिएका युवाहरूले हलो जोत्न, कृषि गर्न वा कुनै शारीरिक श्रम गर्न आफ्नो आत्मसम्मानमा आँच आएको ठान्छन् । उनीहरूको नजरमा, कृषि अशिक्षित वा अनपढ मान्छेले गर्ने काम हो । यसले गर्दा, हाम्रा पुर्खाहरूले परम्परागत रूपमा गर्दै आएको कृषि कार्य आज ठप्प छ र खेतीयोग्य उर्वर जमिनहरू बञ्जर र झाडीले भरिएका छन् । यो अवस्थाले नेपालको कृषिप्रधान अर्थतन्त्रलाई गम्भीर धक्का दिएको छ ।

यो समस्याको अर्को महत्त्वपूर्ण कारक हाम्रो सामाजिक दृष्टिकोण पनि हो । नेपाली समाज अझै पनि विकसित हुन सकेको छैन । जब कुनै पढेलेखेको व्यक्ति गाउँमा फर्किएर कृषि वा पशुपालनजस्ता काममा लाग्छ, उसलाई समाजले फरक नजरले हेर्छ । यत्रो पढेर पनि गाउँमा हलो जोत्न थाल्यो भन्दै कुरा काट्ने र निरुत्साहित गर्नेहरूको कमी छैन । यसले गर्दा, युवाहरूमा निराशा र हीनताबोध पैदा हुन्छ । उनीहरू आफ्नो गाउँ र परिवेशमा केही गर्न चाहँदा पनि खुट्टा तान्ने र अवरोध पु¥याउनेहरूको भीडबाट आहत हुन्छन् । यस्तो सामाजिक वातावरणले नयाँ सोच र उद्यमशीलतालाई निरुत्साहित गर्छ, जसले गर्दा शिक्षित युवाहरू देशमै केही गर्नभन्दा विदेश पलायन हुन बाध्य हुन्छन् ।

रेमिट्यान्सले तत्कालका लागि देशलाई धानिरहेको देखिए पनि यो दिगो समाधान होइन । रेमिट्यान्सले हाम्रो उपभोग संस्कृतिलाई बढाएको छ तर उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेको छैन । यसले गर्दा देश परनिर्भर बन्दै गएको छ । खाद्यान्न देखि लिएर निर्माण सामग्रीसम्म हामी विदेशी उत्पादनमा निर्भर छौँ । यो परनिर्भरताले हाम्रो अर्थतन्त्रलाई कमजोर बनाएको छ र देशलाई विदेशी मुद्राको उतारचढावमा जोखिममा पारेको छ ।

यो भयावह अवस्थाबाट देशलाई मुक्त गर्न अबको शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउनु अनिवार्य छ । हामीले बालबालिकालाई बालविकासदेखि नै उत्पादनमुखी शिक्षा दिनुपर्छ । सैद्धान्तिक ज्ञानका साथसाथै उनीहरूलाई   व्यावहारिक सीप र व्यावसायिक ज्ञानमा पनि पोख्त बनाउनुपर्छ । विद्यालयहरूलाई ज्ञान बाँड्ने केन्द्र मात्र नभएर सीप र उद्यमशीलता विकास गर्ने प्रयोगशालाको रूपमा विकसित गर्नुपर्छ । पाठ्यक्रममा कृषि, प्रविधि, पर्यटन र साना तथा मझौला उद्यमशीलतासँग सम्बन्धित विषयहरूलाई अनिवार्य रूपमा समावेश गरिनुपर्छ । यसले गर्दा विद्यार्थीले सानै उमेरदेखि आफ्नो रुचि र क्षमता अनुसारको सीप विकास गर्न सक्छन् ।

सरकारले शिक्षित बेरोजगार युवाहरूलाई लक्षित गरेर विशेष कार्यक्रमहरू ल्याउनुपर्छ । उद्यमशीलताका लागि सहुलियतपूर्ण ऋण, आवश्यक तालिम र प्राविधिक सहयोग उपलब्ध गराइनुपर्छ । कृषि र पशुपालनलाई आधुनिक प्रविधियुक्त र आकर्षक बनाउन सरकारी लगानी बढाउनुपर्छ । ‘पढेको मान्छेले पनि गर्न सक्छ’ भन्ने सन्देश समाजमा फैलाउन सञ्चार अभियान चलाउनुपर्छ । समाजमा रहेका कुरीति र संकुचित सोचाइलाई हटाएर सकारात्मक सोचको विकास गर्नुपर्छ । पढेलेखेका युवाहरूले आफ्नो ज्ञानलाई देशको विकासमा लगाउने वातावरण बनाउनु आजको प्रमुख चुनौती हो ।

अन्तमा नेपालको भविष्य शैक्षिक बेरोजगारीलाई सम्बोधन गर्न सक्ने हाम्रो क्षमतामा निर्भर गर्दछ । अबको शिक्षाले डिग्री मात्रै होइन, सीप र आत्मविश्वास पनि दिन सक्नुपर्छ । युवाहरूलाई प्रमाणपत्रको बोझले होइन, सीपको बलले आत्मनिर्भर बनाउनुपर्छ । यो समस्याको समयमै समाधान गर्न सकेनौँ भने देश रेमिट्यान्सको दलदलमा फस्नेछ र हाम्रो राष्ट्रिय स्वाभिमान र अस्तित्व नै संकटमा पर्नेछ । अबको बाटो स्पष्ट छः शिक्षालाई प्रमाणपत्रमुखी होइन, उत्पादनमुखी बनाऔँ र देशलाई आत्मनिर्भरतातर्फ डोर्‍याऔँ ।

प्रतिक्रिया