नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गर्नु भएको छ । उपमहासचिव गिरिराजमणी पोखरलले लाल बिगूल दैनिक भने ।
पार्टीको केन्द्रीय समितिमा युवालाई नेतृत्वमा ल्याउनेगरी सबै कमिटीको अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेगरी प्रचण्डले बैठकमा प्रस्ताव राख्नु भएको हो ।
प्रचण्डले पार्टीलाई तत्काल पुनर्संंरचना गर्नका लागि तलसम्मका सबै तहको अधिवेशनका लागि आजैदेखि खट्नका लागि पनि नेतृत्वलाई निर्देश गर्नुभयो ।
बैठकमा समसामयिक विषयमा बोल्दै प्रचण्डले अहिलेको परिवर्तनपछिको संक्रमण अन्त्यका लागि चुनावमा भाग लिएर जानुपर्ने बताउनु भयो । उहाँले चुनाव नै अहिलेको निकास भएकाले आजैदेखि सबै तहका कमिटिहरुलाई चुनाव केन्द्रित कार्यक्रम गर्ने प्रस्ताव गर्नु भएको छ ।
नेपाली काँग्रेस र नेकपा एमाले जस्तै माओवादी पनि भएको आरोपको खण्डन गर्दै प्रचण्डले बैठकमा भन्नुभयो, 'काँग्रेस र एमाले जस्तो हाम्रो पार्टी हुनै सक्दैन । हामीले अहिलेसम्म पनि कुनै पनि प्रकारको बहुमत पाएर अर्थात एकल सरकारको नेतृत्व पनि गरेका छैँनौ । हामीले सुशासन दिँदा सरकार ढलाइएको हो । हामीले पहिले नै प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको राख्दा नमानिएको हो । आज त्यहीँ कुरा पुष्टि भएको छ ।'
प्रचण्डले अब सबै पदाधिकारी र केन्द्रीय समिति भंग गरेर आयोजक समिति राख्ने प्रस्ताव गर्नु भएको छ । यो प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेपछि लागू हुने एक पदाधिकारीको भनाइ छ । केन्द्रीय समिति बैठक अर्को बस्ने तयारी छ ।