डडेल्धुरा। सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व गौरा महोत्सव २०८२ डडेल्धुरामा सुरु भएको छ। बुधबारदेखि राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो महोत्सव लगातार वर्षाका कारण एक दिन ढिलो गरी औपचारिक रूपमा उद्घाटन भएको हो।
महोत्सवको उद्घाटन कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीको प्रमुख आतिथ्यता तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रमेश जोशीको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।
गौरा महोत्सव अन्तर्गत आजदेखि देउडा कार्यक्रम सुरु भएको छ, जुन चार दिनसम्म चल्नेछ। आयोजकका अनुसार, महोत्सव भदौ २१ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा सावित्री धामी, कल्पना खड्का, करबिर ऐर लगायत अन्य कलाकारहरूको प्रस्तुति रहनेछ।
गौरापर्व विशेषगरी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा मनाइने महत्वपूर्ण पर्व हो। यस पर्वमा महिलाहरूले व्रत बसी गौरी र महादेवको पूजा आराधना गर्ने गर्छन्। सामूहिक रूपमा देउडा खेल्दै धार्मिक गीति संवाद गर्ने यो पर्वलाई आस्था, संस्कार र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।
प्रत्येक वर्ष राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गाउँघरमा गौरा समापन भए पछी बागबजार डडेल्धुरामा गौरा महोत्सवको आयोजना गर्ने गरेको थियो । यो वर्ष पनि १७ गते देखि गर्ने कार्यक्रम अविरल वर्षाका कारण १८ गते मात्रै उद्घाटन भएको थियो । गाउँका अधिकांश ठाउँमा गौरापर्व समापन भइसके पनि डडेल्धुरा सदरमुकाममा भने अझै चार दिनसम्म यो महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ।