डोटी । डोटीको शिखर नगरपालिका-८, गोपघाटमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार मृतक २८ वर्षीय शंकर बलायर हुन्। शिखर नगरपालिका-८ गोपघाट घर भएका उनी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।
शुक्रबार राति करिब १२ बजेतिर केआईसिंह राजमार्गको सडकमा बलायर घोप्टो अवस्थामा मृत फेला परेका थिए। मृतकको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।
बलायर असोज ७ गते १८ दिनको बिदा लिएर गृह जिल्ला आएका थिए। उनको मृत्यु दुर्घटनाका कारण हो वा कसैले हत्या गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटाइएको छ । स्थानीयद्वारा अहिले केआइसिंह राजमार्ग बन्द गरिएको छ ।