स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले आइतबार औपचारिक रूपमा रास्वपालाई पार्टी छोडेको जानकारी दिएकी हुन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत रास्वपाभित्रको नेतृत्व शैली र आन्तरिक वातावरणप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन्। उनका अनुसार पार्टीमा ‘कहिल्यै गल्ती नस्वीकार्ने’ प्रवृत्ति मौलाउँदै गएको छ भने नेताहरूलाई पार्टीभन्दा माथि राख्ने प्रवृत्ति हावी भएको छ।
‘गल्तीमाथि गल्ती गर्ने, त्यसको बोझ सम्पूर्ण कार्यकर्ताले बोक्नुपर्ने अवस्था सिर्जना भएको छ। आलोचना गर्नेहरूलाई उल्टै मिडिया ट्रायलमार्फत दबाउन खोज्ने प्रवृत्ति स्वीकार्य छैन,’ श्रेष्ठले भनेकी छन्। उनले थपिन्, ‘अब खुला आक्रमण गर्न सजिलो होस् भनेर पनि पार्टी छाडेँ। मनलाग्दी चलुन्जेल चलाउनुहोस्, आइ क्विट।’
उनले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई समेत आत्मसमिक्षा गर्न आग्रह गर्दै भनेकी छन्, ‘आजको संकट तपाईंहरूको नेतृत्व शैलीकै परिणाम हो। अब नेतापूजा गर्न बन्द गर्नुहोस्, परिवर्तन ल्याउन सही समय आएको छ।’
श्रेष्ठको राजीनामासँगै रास्वपाभित्र पुनः नेतृत्व विवाद र असन्तुष्टिको बहस तीव्र हुने अनुमान गरिएको छ।