आरोप -प्रत्यारोपले देश बन्दैन

करन साउँद

भर्खरै राष्ट्रले बेहोर्नुपरेको पीडादायी दुर्घटना र त्यसबाट उत्पन्न गम्भीर परिस्थितिले हामी सबैलाई एकै ठाउँमा उभिन बाध्य बनाएको छ। भलै, त्यो घटनाको प्रत्यक्ष कारण जेसुकै भए पनि त्यसले हाम्रो समाज र राजनीतिमा गहिरो घाउ छोडेको छ। दर्जनौँ युवाहरूले ज्यान गुमाएका छन्, सयौँ घाइते भएका छन् र अर्बौंको भौतिक सम्पत्ति नष्ट भएको छ। भौतिक संरचना त फेरि निर्माण गर्न सकिएला, तर नेपाल आमाका ती होनहार सन्तानहरू कहिल्यै फर्कने छैनन्। यो क्षति कुनै पनि हारजित, नाफाघाटा वा अंकगणितीय हिसाबले व्याख्या गर्न सकिँदैन। यो त केवल एक राष्ट्रिय पीडा हो, जसबाट हामी सबैले गम्भीर शिक्षा लिनु आवश्यक छ।

यो घटनापछि देशले एउटा नयाँ मोड लिएको छ। अहिलेको परिस्थितिमा, सबैको ध्यान आरोप–प्रत्यारोपमा नभई देशलाई सुरक्षित अवतरण गराउने दिशामा केन्द्रित हुनुपर्छ। राजनीतिक दलहरू र विभिन्न समूहहरूबीच एक–अर्कालाई दोष दिने जुन होडबाजी चलेको छ, त्यो अत्यन्तै अनुचित र आत्मघाती छ। यस्तो समयमा एकले अर्कोलाई विस्थापित गर्ने, रिसइबी साँध्ने र गालीगलौज गर्ने कुराले देशलाई थप द्वन्द्व र अस्थिरतातर्फ मात्र धकेल्छ। यस्ता गतिविधिले न त पीडित परिवारको घाउमा मलम लगाउँछ न त शहीदहरूको सपना साकार पार्छ। बरु यसले देशको उन्नति र प्रगति नचाहने विदेशी तत्त्वहरूलाई आफ्नो स्वार्थ पूरा गर्ने मौका दिन्छ।

हामीले एकपटक विगतलाई फर्केर हेर्नुपर्छ। के देशमा व्याप्त अराजकता, भ्रष्टाचार र अस्तव्यस्तताको कारण पद्धति, संविधान र नियम–कानुनलाई सही ढंगले पालना नगरिनु होइन र? जब योग्य, शिक्षित र ऊर्जाशील युवाहरूले आफ्नो देशमा उचित अवसर नपाएर रुँदैरुँदै विदेशिन बाध्य हुन्छन्, तब हामीले कसरी समृद्ध राष्ट्रको कल्पना गर्न सक्छौँ? भ्रष्टाचारले देशको अर्थतन्त्रलाई कङ्गाल बनाएको छ र यसले नागरिकको विश्वासमा गहिरो चोट पुर्याएको छ। अहिले हामीले एक–अर्कालाई औँला देखाउनुभन्दा पहिले यो कुरा बुझ्नुपर्छ कि जब हामी अरूमाथि चोर औँला तेर्साउँछौँ, तब बाँकी चार औँला आफैँतिर फर्किरहेका हुन्छन्।

यस विषम परिस्थितिमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ र संसद् विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको छ। यद्यपि यसको वैधानिकतालाई लिएर केही प्रश्नहरू उठेका छन्, तर यतिखेर प्रश्न उठाउनुभन्दा पनि यो प्रक्रियालाई सहर्ष स्वीकारेर आगामी निर्वाचनको तयारीमा जुट्नु बुद्धिमानी हुनेछ। यदि कसैलाई अहिलेको व्यवस्थामाथि शंका छ भने, उनीहरूले निर्वाचनमा सहभागी भई जनताको मतबाट आफ्नो योग्यता र क्षमता प्रमाणित गर्न सक्छन्। निर्वाचनमा सहभागी भएर जित्नु र देश तथा जनताको हितमा काम गर्नुभन्दा अर्को कुनै उत्तम बाटो छैन। तर त्यसका लागि, आफूभन्दा माथि उठेर देशको हितका लागि काम गर्ने अठोट लिन जरुरी छ। व्यक्तिगत स्वार्थ, लोभ र भ्रष्टाचारको राजनीतिलाई त्यागेर सबैले देशको हितलाई प्राथमिकता दिनुपर्छ।

अब देशलाई स्थायी शान्ति, उन्नति र प्रगतिको बाटोमा लैजानु हाम्रो सामुहिक दायित्व हो। सबै पक्षले आरोप–प्रत्यारोपको राजनीति त्यागी एक–अर्कालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ। विगतमा भएका गल्ती र कमी–कमजोरीलाई सच्याउँदै सबै एकजुट भएर देशलाई समृद्ध बनाउने काममा लाग्नुपर्छ। राजनीतिक दलहरूले आफ्नो अहम्लाई थाती राखेर नागरिकको भावनालाई सम्मान गर्नुपर्छ र नागरिकले पनि आफ्ना मागहरूलाई शान्तिपूर्ण तरिकाले राख्ने वातावरण तयार गर्नुपर्छ।

अब फाटेको मनलाई टालेर, ढलेको सम्पदालाई उठाएर र शहीदका सपनालाई साकार पारेर अगाडि बढ्नुको विकल्प छैन। ‘ध्वंस र निर्माण’ को सिद्धान्तलाई आत्मसात् गर्दै हामी सबै मिलेर नयाँ शिराबाट देश विकासमा लाग्नुपर्छ। यो यात्रामा सबैको भलो, कल्याण र वीर शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। अबको बाटो द्वन्द्वको होइन, सहकार्यको हो। आरोप–प्रत्यारोपको होइन, राष्ट्र निर्माणको हो।

प्रतिक्रिया