डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट समानुपातिक उम्मेदवारको अन्तिम सूचीमा कसैलाई पनि समावेश नगरिएकोप्रति असन्तुष्टि जनाउँदै प्रत्येक्षतर्फ सिफारिसमा परेका नेता मानसिंह मालले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।
पार्टीले समानुपातिक बन्दसूचीमा डडेल्धुरा जिल्लालाई पूर्ण रूपमा बेवास्ता गरेको भन्दै मालले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्। उनका अनुसार जिल्लाबाट समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको भए पनि अन्तिम सूचीमा एक जना पनि नपर्नु डडेल्धुरामाथिको अन्याय हो।
यस्तै, डडेल्धुराबाट प्रत्येक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएकोमा आफू पनि परे तापनि यस्तो अवस्थामा प्रत्येक्ष निर्वाचनमा सहभागी नहुने निर्णय लिएको उनले बताएका छन्। निर्वाचन प्रक्रिया अघि नै पार्टीभित्र अस्वस्थ प्रवृत्ति देखिएको उनको आरोप छ।
मालले आफ्नो नाम सिफारिस गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता तथा समर्थकप्रति धन्यवाद व्यक्त गर्दै राजनीतिक यात्रालाई निरन्तरता दिने स्पष्ट पारेका छन्। माल तत्कालीन नेकपा माओवादी केन्द्र का प्रदेश उपाध्यक्ष पनि हुन ।