डडेल्धुरा। कृष्ण जन्माष्टमीको अवसरमा डडेल्धुराका युवाहरूले शनिबार उग्रतारा मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेका छन्।
अभियान अन्तर्गत मन्दिर वरिपरि फैलिएका पलाष्टिकजन्य तथा कुहिने फोहरहरू संकलन गरी उचित स्थानमा व्यवस्थापन गरिएको हो। सहभागीहरूको भनाइमा, यस कार्यले धार्मिक स्थललाई सफा राख्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्याउने विश्वास लिइएको छ।
अभियानमा संलग्न एक युवाले भने, “मन्दिरको पवित्रता पूजा–आराधनामा मात्र होइन, यसको स्वच्छता र सौन्दर्यमा पनि निहित हुन्छ। त्यसैले हामी युवाहरूले यो सरसफाइ अभियान सुरु गरेका हौं, जसले धार्मिक स्थलको महत्व जोगाउनुका साथै समाजमा सफाइको प्रेरणा फैलाउनेछ।”
युवाहरूको पहलको प्रशंसा गर्दै उग्रताराका धामी तेज बहादुर साकीले भने, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको निरन्तर सक्रियता आवश्यक रहेको हुँदा युवाहरूले यस्ता अभियान निरन्तर गर्नुपर्ने भन्दै सम्पूर्ण युवाहरूलाई धन्यवाद र आसिर्वाद दिए ।
सरसफाइ कार्यक्रममा डडेल्धुरामा विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरूको सहभागिता थियो ।