ढुवानी र ग्रेडिङ सहितको लागत मूल्य जोडेर डडेल्धुरामा बिउ आलुको मूल्य निर्धारण

lalbigul.com

डडेल्धुरा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाइ डडेल्धुराले चालु आर्थिक वर्ष २०८२/०८३ का कार्यक्रम सार्वजनिक गर्दै डडेल्धुरालाई बिउ आलुको श्रोत जिल्ला बनाउने तयारी अघि सारेको छ। बिहीवार सम्पन्न जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो।

बैठकले यस वर्ष उग्रतारा कोल्ड स्टोरमा भण्डारण हुने बिउ आलुको मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ। खेतबाट खरिद, ढुवानी, पोस्टहार्भेष्ट क्षति, ग्रेडिङ खर्च र बैंक ब्याज जोडेर दर निर्धारण गरिएको कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो।

बिउ वितरणमा ५० केजीको बोरा प्रयोग गर्नुपर्ने, डडेल्धुरामा उत्पादन भई कोल्ड स्टोरमा राखिएको आलु मात्र बिक्री गर्न पाइने, बिउ जातीय शुद्ध, रोगमुक्त र उचित साइजको हुनुपर्ने, किसानलाई बिउ दिँदा आलुको जात खुलाउनुपर्नेजस्ता मापदण्ड तोकिएका छन्।

हिउँदे र वर्षे दुवै सिजनमा उत्पादन हुने आलुलाई यस वर्षदेखि खाने र बिउ छुट्याएर औपचारिक प्रमाणिकरण प्रक्रियामा लैजाने तयारी गरिएको छ। यसका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह, बिउविजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन र बिउविजन प्रयोगशाला सुन्दरपुरसँग सहकार्यमा तालिम, क्षमता विकास तथा फिल्ड निरीक्षण गरिनेछ।

कार्यान्वयन इकाइको २९ हेक्टर क्षेत्रमा सञ्चालन हुने बिउ आलु उत्पादन कार्यक्रममा उत्पादक कृषकलाई तालिम दिइने र उत्पादित बिउलाई ग्रेडिङ गरी कोल्ड स्टोरमा भण्डारण गर्ने योजना छ। यसरी डडेल्धुरालाई औपचारिक रुपमा बिउ आलुको श्रोत जिल्ला बनाउने लक्ष्य लिइएको प्रमुख बस्नेतले बताउनुभयो।

तर, जंगली जनावर र छाडा चौपायाका कारण किसान खेतीमा हतोत्साहित भएकाले घेराबार कार्यक्रम, बाली प्रदर्शनी र अदुवा, बेसार, कागतीजस्ता जनावरले हानी नगर्ने बाली लगाउन प्रोत्साहन गर्ने योजना पनि अघि सारिएको छ।

 

प्रतिक्रिया