सुदूरपश्चिमको मौलिक पर्व: बुन्डुनी हाल्ने दिनको आध्यात्मिक र सामाजिक महत्त्व
सम्पादकीय
सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिमा गहिरो रूपमा जरा गाडेको परम्परागत पर्व हो बुढी हाल्ने दिन । प्रत्येक वर्ष भाद्र १ गते बुन्डुनी (बुढी) हाल्ने र असोज १ गते बुन्डुनी पोल्ने प्रचलन यहाँको गाउँघरमा आज पनि जीवन्त छ । यो केवल एक धार्मिक कर्मकाण्ड मात्र नभई, आध्यात्मिक शुद्धीकरण, कृषिजन्य जीवनको अभिन्न अंग र सामाजिक एकताको शक्तिशाली प्रतीक हो ।
पौराणिक दृष्टिले यो परम्परालाई भगवान् कृष्णसँग सम्बन्धित कथा जोडिन्छ । भागवत पुराणअनुसार, कृष्णलाई मार्न पुतना नामकी राक्षसनीले स्थानपान गराउदा बिस खुवान खोज्दा कृष्णले उल्टै उनको प्राण नै लिएर संसारलाई नकारात्मक शक्तिबाट मुक्त गरिदिए । यस घटनाले धर्मको विजय, सकारात्मक शक्तिको उदय र दुष्ट शक्तिको अन्त्य भएको सन्देश दिन्छ । बुढी हाल्ने दिन पनि यस्तै प्रतीक बोकेको छ । यस दिन गाउँघरका मानिसहरूले दुःख, रोग, शोक, पीडा र नकारात्मक ऊर्जालाई ‘बुढी’ (रुखका हाँगा, लता वा पात) का रूपमा दोबाटोमा गाडेर आफ्नो नयाँ जीवन, सुरूवात गर्ने गर्दछन् भने असोज १ गरे त्यसलाई पोल्ने गर्दछन् ।
यस पर्वसँगै बुन्डुनी हाल्ने र पोल्ने परम्पराले अझ प्रष्ट सन्देश दिन्छ । भाद्र १ गते घर–परिवार र गाउँमा रहेका सबै नकारात्मकतालाई प्रतीकात्मक रूपमा बुन्डुनीमा पोको पारेर राखिन्छ । त्यसपछि असोज १ गते, जब अन्न बाली भित्र्यायी सकिन्छ र किसानहरू केही फुर्सदिला हुन्छन्, गाउँकै सामूहिक सहभागितामा त्यो बुन्डुनी जलाइन्छ । आफ्नो घरभित्र रहेको नकरात्मक उर्जालाई आगोको राको संगै ल्याएर बुडीलाई जलाउछन् जसमा किसानका दुख, पिडा रोग सोक मिसिएका हुन्छ त्यो दिन सबै जलाएर नयाँ जिवनको सुरूवात गर्छन् । थकान र सम्भावित रोगलाई प्रतीकात्मक रूपमा जम्मा गरी असोजमा सामूहिक रूपमा दहन गरिन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा शुद्धीकरण गर्ने मात्र होइन, गाउँलेहरूबीच आपसी एकता र सहकार्यलाई पनि सबल बनाउँछ ।
आज पनि सुदूरपश्चिमका थुप्रै गाउँका दोबाटा वा चोकहरूमा बुढी हाल्ने प्रथा कायम छ । गाउँलेहरू सामूहिक रूपमा भेला भएर यो परम्परा निर्वाह गर्छन् । यसले सामाजिक सद्भाव, सामूहिक सहभागिता र परम्पराप्रतिको प्रतिबद्धतालाई बलियो बनाइदिन्छ । यसरी हेर्दा, बुढी हाल्ने दिन केवल आध्यात्मिक वा धार्मिक पक्षमा सीमित नभई सामाजिक सांस्कृतिक जीवनलाई पनि गहिरो प्रभाव पार्ने परम्परा हो ।
आधुनिकताले गाउँघरको जीवनशैलीमा धेरै परिवर्तन ल्याइसकेको छ । तर अझै पनि ग्रामीण क्षेत्रमा यो परम्परा जोगाइराखिएको तथ्य सुदूरपश्चिमको मौलिक संस्कृतिप्रतिको आस्था र प्रतिबद्धताको स्पष्ट उदाहरण हो । आजका पुस्ताले यसलाई केवल कर्मकाण्डिक अभ्यासको रूपमा मात्र होइन, सकारात्मक सोच, सामूहिक सहकार्य र प्रकृतिप्रतिको नजिकपनाको प्रतीकका रूपमा पनि ग्रहण गर्न आवश्यक छ ।
बुढी हाल्ने परम्पराले हामीलाई गम्भीर शिक्षा दिन्छ जीवनका दुःख, पीडा र नकारात्मकतालाई हृदयमा थामेर राख्ने होइन, समयमै विसर्जन गरेर नयाँ सुरुवात गर्नुपर्छ । यो अभ्यासले मानिसलाई हरेक कठिनाइपछि पनि नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचसहित अघि बढ्न मद्दत गर्छ ।
पुतना वधको कथा जस्तै, जसमा कृष्णले सम्पूर्ण समाजलाई नकारात्मक शक्तिबाट मुक्ति दिलाए, बुढी हाल्ने र बुन्डुनी पोल्ने परम्पराले पनि नकारात्मकतालाई विसर्जन गरी उज्यालो जीवनतर्फ अघि बढ्ने सन्देश दिन्छ । यो मौलिक परम्परा केवल विगतसँग जोडिएको अभ्यास होइन, वर्तमान र भविष्यका लागि मार्गदर्शक शिक्षाको स्रोत हो ।
बुढी हाल्ने र पोल्ने दिनेले हामीलाई सम्झाउँछ—जीवनमा आएको कठिनाइ, दुःख र अशुभतालाई विसर्जन गरेर मात्र नयाँ सम्भावना र समृद्धिको बाटो खुल्छ । यही सन्देशलाई पुस्तान्तर गर्दै लैजानु हाम्रो सामूहिक दायित्व हो ।