धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक कहिले सञ्चालन हुने हो भन्ने विषय अनिश्चित बनेको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा भएको आगजनी र तोडफोडपछि अहिले सम्म मर्मतको काम सुरु नहुँदा बैठक बस्ने अवस्था छैन ।
गत भदौ २४ गतेको आगजनी घटनामा प्रदेश सभा भवन, सचिवालय, विषयगत समितिका कार्यालय र संसदीय दलका कोठासहितका संरचनामा ठूलो क्षति पुगेको थियो । सभामुख भीमबहादुर भण्डारीका अनुसार करिब ९० प्रतिशत संरचना पूर्ण रूपमा नष्ट भएका छन् । उहाँले भन्नुभयो, “ठाउँ नै छैन, कहाँ बसाउने ? अहिलेको अवस्थामा बैठक सम्भव छैन, मर्मतपछि मात्रै सम्भव हुन्छ ।”
सभामुख भण्डारीले मर्मत कार्य अघि बढाउन तयारी भइरहे पनि तिहारअघि काम सुरु हुने सम्भावना कम रहेको बताउनुभयो । उहाँका अनुसार, हालसम्म मर्मतको ठोस निर्णय नहुँदा नीति निर्माण र कानुन बनाउने कार्य पूर्ण रूपमा ठप्प भएको छ । प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रारम्भिक मूल्याङ्कन अनुसार आगजनी र तोडफोडबाट करिब १२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । प्रदेश सभा सचिवालयले मात्रै करिब ७ करोड रुपैयाँ बराबरका भौतिक सम्पत्ति गुमाएको जनाएको छ ।
क्षतिग्रस्त सूचिमा छ करोड ९३ लाख रुपैयाँको सम्पत्ति, दुई थान डिजिटल डिस्प्ले बोर्ड, दुई थान सोफासेट, एक थान रोष्टम, दुई थान एसी, साथै ६९ लाख ९९ हजारको मिनी बस, तीन करोड ३१ लाख रुपैयाँका जिपहरू, ७१ लाख ९५ हजारको पिकअप भ्यान, र आठ लाख २६ हजार बराबरका मोटरसाइकलहरू जलेर नष्ट भएका छन् ।
सभामुख भण्डारीका अनुसार, अहिले मर्मत कार्यको बजेट र ठेक्का प्रक्रियाबारे छलफल भइरहेको छ । तर तत्काल बैठक सञ्चालन गर्ने विकल्प नभएकाले प्रदेश सभाको नियमित गतिविधि पुनः सुरु हुन केही समय लाग्ने भएको छ । “मर्मत बिना बैठक बसाउने ठाउँ छैन, त्यसैले सबै प्रक्रिया तिहारपछि मात्र अगाडि बढ्नेछ,” सभामुख भण्डारीले भन्नुभयो ।