सम्पाकीयः फेसबुकका हजारौं साथी छन् तर साथमा कोही छैन !
कहिले काही त यस्तो लाग्छ मानब भएर पनि मानब बिहिन समाजमा कतै हामी हुर्किरहेको त छैनौ । वर्षौ पहिले माक्सले हाम्रो समाजको परिकल्पना गरेका थिए जव मानबले श्रम गर्न छाड्छ औद्योगिक क्रान्ति हुन्छ । तब मानबमाथि प्रविधिले राज गर्ने छ भनेर आज हामी त्यहाँ नै पुगेका छौ । हिजो आज होटल चिया पसल र चौतारामा समाज वनाउने कुरा हुदैन्न बरू सबै आफ्नै धुनमा हुन्छन् फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम र फ्रिफायर जस्ता विभिन्न डिजिटल प्लेटफर्ममा दिनभर व्यस्त हुन्छन् । व्यस्त पनि यति हुन्छन् की विहान बसेको मान्छे साझ कतिवेला भयो भन्ने सम्म पनि थाहा हुँदैन ।
हामीहरु विभिन्न मान्छेसंग सामाजिक संञ्जालमा घन्टौ विताउछौ र सुचना आदानप्रदान पनि गर्छौ तर आफु संग चौतारामा बसेको मन्छे कतिबेला हरायो कतिबेला कहाँ गयो भन्ने सम्म पनि थाहा हुँदैन । प्रविधिले हामीलाई धेरै निक बनाएको छ हामीले फेसबुकमा हजारौं 'साथी' बनाएका छौं, तर एक-अर्काको सुखदुःखमा साथ दिन सक्ने वास्तविक साथीहरू भने कमै छन् । यो डिजिटल दुनियाँले मानिसहरूलाई एक किसिमको भ्रममा बाँधेको छ । सामाजिक सञ्जालमा सबैले आफ्नो जीवनको राम्रो पक्ष मात्र देखाउँछन् । धेरै लाइक र कमेन्ट पाउँदा हामीलाई खुसी लाग्छ, तर जब हामी अरूको 'परिपूर्ण' जीवन देख्छौं, हामीलाई आफ्नो जीवन अपूर्ण लाग्न सक्छ । यसले गर्दा धेरै मानिसहरूमा निराशा र आत्मग्लानि बढिरहेको छ ।
अनलाइन गेम र डिजिटल जुवाको कुरा पनि कम डरलाग्दो छैन । आजका युवाहरू र बालबालिकाहरू पनि यसमा फसेका छन् । खेलमा हारजितको मानसिक तनाव र पैसाको लोभले उनीहरूलाई निराशा र डिप्रेसनतर्फ धकेलेको छ । अनलाइन गेमको लतले आत्महत्यासम्मको दुःखद घटनाहरू हाम्रो समाजमा बढिरहेका छन्। हालैका दिनहरूमा, धेरै युवाले अनलाइन गेम खेल्दा धेरै पैसा गुमाएर वा मानसिक तनाव सहन नसकेर आफ्नो जीवन समाप्त पारेका उदाहरणहरू हामीले देखेका छौं ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, यो समस्या अझ गहिरो छ । यहाँका धेरै युवाहरू काम र अवसरको खोजीमा विदेशिएका छन् । जो नेपालमै छन्, उनीहरू पनि डिजिटल दुनियाँको प्रभावबाट अछूत छैनन् । घरमा बुबाआमा र बालबालिकाहरू एकअर्काबाट टाढा भएर मोबाइलमा झुण्डिएका छन् । शहरदेखि गाउँसम्म, सबैको हातमा स्मार्टफोन पुगेको छ, तर हृदयहरू एक-अर्काबाट टाढा भइरहेका छन्। नेपालमा, हामीले सधैं समुदाय र परिवारको महत्त्वलाई प्राथमिकता दिएका छौं
यो प्रविधिको विकासको साथसाथै, हामीले यो पनि बुझ्नुपर्छ कि यसलाई कसरी प्रयोग गर्ने। प्रविधिले हामीलाई सुविधा दिएको छ, तर यसले हाम्रो सम्बन्ध र भावनालाई खत्तम पार्न दिनु हुँदैन। हामीले यो कुरामा विशेष ध्यान दिनुपर्छ कि हामी मानव हौं हामीलाई डिजिटल संसारभन्दा पनि वास्तविक संसारमा एक-अर्काको साथ चाहिन्छ । हामीले परिवार र साथीहरूसँग समय बिताउनुपर्छ, डिजिटल जुवा र अनलाइन गेमको लतबाट जोगिनुपर्छ र प्रविधिलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनुको सट्टा यसलाई एउटा औजारको रूपमा मात्र प्रयोग गर्नुपर्छ । प्रविधिले हामीलाई एकाग्रह बनाउन होइन, बरु हामीलाई अझ बढी एक-अर्कासँग जोड्न मद्दत गर्नुपर्छ । प्रविधिको अन्धो दौडमा हामीले आफ्नो मानवता र आपसी सम्बन्धको महत्त्व बिर्सनु हुँदैन आफ्नो अस्तित्व आफै जोगाउनु पर्छ ।