अत्तरियाको सुधार गृहमा युवकको रहस्यमय मृत्यु, हत्याको आशंकामा आफन्त

lalbigul.com

धनगढी । कैलालीको अत्तरियास्थित उग्रतारा सुधार गृहमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको मृत्यु हत्या भएको भन्दै आफन्तले शंका व्यक्त गरेका छन् ।

मृतक डोटीको जोरायल गाउँपालिका-२ का २८ वर्षीय सागर मल्ल हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार मानसिक स्वास्थ्यमा समस्या देखिएपछि चार महिनाअघि मल्ललाई उक्त सुधार गृहमा राखिएको थियो ।

प्रहरीका अनुसार, साँझ ७ बजे औषधि खाएर सुतेका मल्लले राति १० बजे पेट दुखेको बताएका थिए । त्यसपछि उनी पुन: सुतेको र राति करिब २ बजे शौचालय गएको बताइएको छ । लामो समयसम्म शौचालयबाट नआएपछि उनी अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामा भेटिएका मल्ललाई तत्कालै पद्मा अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सेती प्रादेशिक अस्पताल पठाइएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

अहिले मल्लको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् र यो हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया