बाजुरा । चार महिनादेखि अबरुद्ध रहेको बाजुराको मार्तडी-कोल्टी सडक मर्मत सम्भारको काम सुरु भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामको समन्वयमा असोज ३ गतेदेखि मर्मत कार्य प्रारम्भ गरिएको हो । दशैंअघि सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अगाडि बढाइएको छ ।
मार्तडी-कोल्टी सडक अवरुद्ध हुँदा हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म आवतजावतमा ठूलो समस्या भोग्दै आएका थिए । विशेषगरी बुढीनन्दा नगरपालिकाका किसानले तरकारी तथा फलफुलको उत्पादन बजार पुर्याउन नसक्दा कठिनाइ बेहोर्नुपरेको थियो ।
बुढीनन्दा नगरपालिका प्रवक्ता जङ्गवीर रोकायाले डोजर भाडामा चलाएर सडक मर्मत सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले प्रति घण्टा ७ हजार पाँच सय रुपैयाँ तोके पनि भौतिक पूर्वाधार विकास कार्यालयले ४ हजार ७ सय रुपैयाँ मात्र दिने निर्णय गरेको छ । “यो रकम तेल खर्चमै धान्ने खालको हो,” उहाँले भन्नुभयो ।
भौतिक पूर्वाधार विकास कार्यालय अछामका जङ्गबहादुर थापाले कार्यालयसँग आफ्नै डोजर नभएकाले पालिकाबाट भाडामा लिएर काम भइरहेको बताउनुभयो । नेपाल सरकारको प्रचलित दरअनुसार ४ हजार ७४१ रुपैयाँ प्रतिघण्टा दरले भुक्तानी गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडक रहेकोमा १४ किलोमिटर बडीमालिका नगरपालिका र २८ किलोमिटर बुढीनन्दा नगरपालिकामा पर्छ । बर्खामा आएको पहिराले सडक अवरुद्ध भएपछि विगत चार महिनादेखि सवारी साधन मार्तडीमै रोकिएका थिए ।
प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार दशैंअघि सडक सुचारु गर्ने गरी बुढीनन्दा, बडीमालिका र भौतिक पूर्वाधार कार्यालय अछामले संयुक्त पहल गरेका छन् । अहिले मर्मत कार्य अगाडि बढेसँगै किसानले आफ्नो उत्पादन बजारमा पुर्याउन सक्ने आश पलाएको छ ।