असोज ८ डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र नेतृत्व परिवर्तनको विषयले बहस चुलिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्। उनको यो प्रस्तावलाई लिएर पार्टीका नेताहरूबीच मतभेद देखिएको छ।
माओवादी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेतृत्व छाडेर आफूलाई जिम्मेवारी दिनुपर्ने बताएका थिए। उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार श्रेष्ठले जेनजी विद्रोह र त्यसले दिएको शिक्षालाई ध्यानमा राख्दै प्रचण्डले नयाँ ढंगले अघि बढ्न तयार भएको बताउँदै प्रणालीगत ढंगले आफूलाई कार्यवहाकको जिम्मेवारी दिनुपर्ने तर्क राखेका थिए। उनले अहिलेको मुख्य कार्यभार चुनाव भएको र चुनावपछि मात्र महाधिवेशनमा जान उपयुक्त हुने बताए। २०७८ सालको महाधिवेशनमा विचारको संश्लेषण हुन नसकेकाले नयाँ अधिवेशन आवश्यक रहेको उनको भनाइ छ। तर, चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्र 'आइडियो कल्चर' का कारण एकतामा समस्या आउन सक्ने भएकाले चुनावपछि समय लिएर महाधिवेशन गर्नुपर्ने उनको जोड छ।
श्रेष्ठको यो प्रस्तावलाई उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन्। शर्माले लामो समयदेखि नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् र पार्टीको नेतृत्व उमेर वा व्यक्तिगत इच्छाले नभई आन्दोलनको भट्टीबाट खारिएर आएको नेताले विचारद्वारा गर्नुपर्ने तर्क राख्दै आएका छन्। तर, सचिव मातृका यादवले भने श्रेष्ठको प्रस्तावको कडा प्रतिवाद गरेका छन्। उनले प्रचण्डबाहेक अहिलेका कुनै पनि पदाधिकारीले पार्टीको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन्। यादवले भने, “हामीलाई प्रचण्ड कमरेडबाहेक अरूले नेतृत्व गर्न सक्नुहुन्न।”
सचिव देवेन्द्र पौडेलका अनुसार श्रेष्ठको यो प्रस्ताव छलफलको विषय मात्रै हो, यसमा कुनै निर्णय भइसकेको छैन। पार्टीभित्र अहिले महाधिवेशनदेखि नेतृत्वसम्मका विषयमा छलफल चलिरहेको छ। माओवादीको बुधबार बस्ने स्थायी समिति बैठकमा महाधिवेशनबारे छलफल हुनेछ। त्यसपछि बिहीबार बस्ने केन्द्रीय समिति बैठकले यस विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ। माओवादीभित्रको यो आन्तरिक बहसले आगामी दिनमा पार्टीको नेतृत्व र दिशा कता जाने भन्ने तय हुने देखिन्छ।